विधुतिये शक्ति र नेपालको सन्दर्भ

विधुतिये शक्ति र नेपालको सन्दर्भ

आधुनिक मानव जीवन चारैतिरबाट बत्ति, टेलिभिजन, राईस कुकर, पंखा, फ्रिज, एअर कन्डिसनर, गिजर, भ्याकुम क्लिनर जस्ता विद्युतिय उपकरणहरुबाट घेरिएको छ । यी उपकरणहरु बिनाको हाम्रो जीवनको कल्पना नै हुन सक्दैन । एउटा औंलाको इशारामा कोठा उज्यालो बन्छ, अगाडिको स्क्रिनमा दृष्यहरु चलायमान हुन्छन, तातो कोठाभित्र चिसो हावा चल्न शुरु हुन्छ, नुहाउनको लागि धाराबाट तातो पानी निक्लन्छ, कांचो चामल पाकेर भात बन्दछ र खाना पाकेपछि आगो आफैं निभ्दछ, यि सबै चमत्कार भित्र एउटै शक्ति लुकेको छ, विद्युत ।

नेपालको नै परिप्रेक्षमा पनि केहि दशक अगाडिको अवस्थासंग तुलना गर्ने हो भने विद्युतले हाम्रो जीवनस्तरलाई त्यो बेलाको भन्दा निकै माथि उकालेको छ भन्ने कुरामा दुई मत नहोला । पहिला भुईं तल्लामा पानी भरेर गाग्री बोक्दै पटक पटक घर माथि उक्लनु परथ्यो, आज मोटरले पानी तानेर सजिलै त्यो काम पुरा गरिदिएको छ, चाड पर्वको बेलामा भान्सामा दुख गरि गरि पिन्नु पर्ने चामल वा मसला आजकल ग्राईण्डरले पिसिदिन्छ, शहर तिरका घर घरमा कुचो लगाउने काम भ्याकुम क्लिनरको भएको छ, शारिरीक श्रम बिना लुगा धुन आजकल वासिंग मेसिनको प्रयोग हुन थालेको छ । हामीलाई यी सबै सुविधा प्रदान गर्नमा सहायक बनेको शक्ति नै विद्युत शक्ति हो, जसको प्रयोगले जटिल औद्यौगिक कामहरुको अलावा दैनिक घरायसी कामहरु गर्न समेत अत्यन्त सजिलो बनाई दिएको छ । बिद्युतिय शक्ति प्रयोग गर्नका लागि पहिला त्यसको उत्पादन हुन जरुरी छ । बिद्युतको उत्पादन कैयन तरिकाबाट गर्न सकिन्छ जसमध्ये मूख्यतया जलशक्तिबाट, बायुशक्तिबाट, वाष्पशक्तिबाट, सौर्यशक्तिबाट, आणबिक शक्तिबाट वा रासायनिक प्रतिक्रृयाबाट विद्युत उत्पादन गर्ने गरिन्छ । हाम्रो देशमा मूख्यतया जलशक्तिबाट बिजुलि उत्पादन हुन्छ । कम परिमाणमा भने ठाउँठाउँमा शौर्यशक्तिबाट (सोलार प्यानलको प्रयोगबाट), बायुशक्तिबाट ( एअर टर्बाइनको प्रयोगबाट, राशायनिक प्रतिकृयाबाट (गोबर ग्यांसबाट) समेत विद्युत उत्पादन गर्ने गरिएको छ ।

कतिपय राष्ट्रहरुमा मागलाई पूरा गर्ने परिमाणमा विद्युत उत्पादन हुने गर्छ । त्यसैले त्यहाँ सजिलै सबैप्रकारका कामहरु बिजुलीबाट गर्न सकिने अवस्था छ र लोडसेडिंग जस्ता समस्या पनि रहेको छैन । ज्यादा विद्युत खपत हुने ईलेक्ट्रिक ट्रेन देखि सेन्ट्रल हिटिंग सेन्ट्रल कुलिंग जस्ता विद्युतिय सुविधाहरुको प्रयोग प्रचुर मात्रामा हुने गर्दछ । सन्२०१८÷२०१९ मा नेपाल विद्युत प्राधिकरणबाट आफ्ना ठुला साना सबै उत्पादनगृहको  उत्पादन जोडेर २५४८.११ गिगावाट आवर (पच्चिस लाख अठचालिस हजार एक सय दस मेघावाट आवर) विद्युत उत्पादन भएको छ र यसबाट नेपालका करिव ७८ प्रतिशत जनता सम्म देशको विद्युत ग्रिडको पहुंच पुगेको छ (ने.वि.प्रा. बार्षिक प्रतिवेदन २०१८÷२०१९) । यो ठिक अघिल्लो बर्षको विद्युत उत्पादन भन्दा १०.४ प्रतिशतको बृध्दि हो नेपाल निकै अघि देखि नै सबैभन्दा बढि जलबिद्युत उत्पादन गर्न सक्ने क्षमता रहेको देशको रुपमा चित्रित हुँदै आएको छ र आउंदो एकाध बर्ष हाम्रो देशको जलविद्युत उल्पादन आफ्नो देशको उपयोगका लागि पर्याप्त हुने अवस्थामा पुग्नेछ । आवश्यक सेवाका लागि विद्युत खपत गर्नुमा कुनै हानी छैन तर हाम्रो अज्ञानतावश वा जानी जानी प्रत्यूत्पादक ठाउंमा उर्जा व्यय भएमा यस्तो जथाभावी उर्जा खपतका कारण उर्जाको उत्पादन र उपभोग बिचमा समन्वय हुन नसकि समस्याहरु आईपर्न सक्छ । त्यसैले हालको अवस्थामा कुनै उपायले उर्जाको खपत घटाउन सकेमा, अझ उर्जा दक्षता (ईनर्जी ईफिसियन्सी) बढाउन सकेमा उपभोक्ताले बिद्युत प्रयोग गरे वापत तिर्नुपर्ने रकम कम भई आर्थिक व्यय कम हुने मात्र नभई सहि ठाउँठाउँमा मात्र विद्युत खर्च हुन जानाले अनावश्यक उर्जा व्यय रोकिन्छ । यसैले बिद्युतको बचाव के कसरी गर्न सकिन्छ भन्ने उपायहरुको बारेमा सर्वसाधारणहरुलाई जानकारी हुन जरुरी छ ।